भ्रष्टाचार र अनियमितताको कारक मानसिक गरिबी । - krishivabrothers

relation never dies but it begets. यो हाम्रो निजी ब्लग हो । यसमा प्रकाशित हुने व्यक्तिगत, सामाजिक, सामुदायिक, सरकारी, गैर सरकारी, अन्तराष्ट्रिय तथा विश्वमा भएका समसामयिक घटना तथा विषय वस्तुको बारेमा प्रकाशन गरिने गरिन्छ । खास गरि यसमा हाम्रो मूलुकमा भएका समसामयिक विषय वस्तुमा आधारित भएर लेख तथा रचनाहरु संरक्षित हुने छन् । प्रकाशित लेख तथा रचनालाई कुनै पनि किसिमको नक्कल गर्नु कानुन अनुसार बर्जित गरिएको छ ।

Breaking

Home Top Ad


Friday, December 11, 2020

भ्रष्टाचार र अनियमितताको कारक मानसिक गरिबी ।

 गरिबी शब्दलाई एकै अर्थमा परिभाषित गर्न गाह्रो छ । तर गरिबीको वास्तविक अर्थ केही कुरा कमी हुनु हो । चाहे त्यो भौतिक होओस् चाहे अभौतिक । गरिबी यहीँ चिजको कमीलाई भनेर भनिन्छ भन्ने छैन । कसैलाई गाँस, बास, कपास नहुनु गरिबी हो भने समय सापेक्ष शिक्षा, दीक्षा र विलासिताका विषय वस्तु नहुनु पनि गरिबी हो ।

गरिबी भौतिक र मानसिक गरी दुई प्रकारका हुन्छन् । भौतिक गरिबीमा भौतिक विषय वस्तुको पर्याप्तता नहुनु हो भने मानसिक गरिबी भनेको भएर पनि अरूको जत्ति साधन र श्रोत आफूसँग नहुनु मानसिक गरिबी हो ।

भौतिक गरिबीको कुरालाई जोड्दा अहिलेको परिप्रेक्षमा मनग्य पैसा, गरगहना, घर, घडेरी र विलासिताका साधनहरूको अपर्याप्तता हुनु हो । भ्रष्ट्राचार र अनियमितता कम गर्नको लागि हाम्रो मुलुकमा विभिन्न कानुन, नीति, नियम र ऐन लगायतका धेरै नियमन गर्ने कानुन बनेका छन् भने अर्को तिर भ्रष्ट्राचार र अनियमितता बढेको बढ्यै छ ।

भ्रष्टाचार र अनियमितता गर्नेमा सबैको दोषारोपण कर्मचारीहरूमा हुने गर्दछ तर यहाँ कर्मचारी मात्र यसका दोषी छैनन् । यसमा देशका राजनीतिक दल, उद्योग व्यवसायी, व्यापारी, लगायतका उपभोक्ता बाहेकका सबै संलग्न संघ संस्था भ्रष्ट्राचार र अनियमिततामा सामेल छन् । यसमा कुनै दुई मत छैन । अझ अहिलेको भौतिकवादमा आएको चरम विचलनको बाबजुद जसरी हुन्छ पैसा कमाउने समाज र समुदायमा आफ्नो दम्भ प्रदर्शन गर्ने यसो गर्नमा लालायित हुनेहरू नै भ्रष्टाचार र अनियमितताका कारक बनेका छन् । राम्रोसँग पढे लेखेर सरकारी सेवामा उच्च ओहोदामा पदासीन कर्मचारीहरूको व्याप्त मानसिक गरिबी नै भ्रष्टाचारको कारक हो ।

हामीले यहाँ भोगिसकेको अवस्था छ । जहाँ कर छली हेर्ने निकाय कर मिनाहाको नाउँमा भ्रष्टाचार, गरिबी जनताहरूलाई आएको सामग्रीमा भ्रष्टाचार, जनताको स्वास्थ्यमा चरम लापरबाही, हरेक क्षेत्रमा भ्रष्टाचार र अनियमितता, भ्रष्टाचारको लागि दलबलको लागि निकटस्थ राजनीतिक दलका कार्यकर्ता र नेताहरूलाई बेनियम त्यस सेवा क्षेत्रभित्र पार्ने जस्ता अनियमितता तपाई हाम्रोसामु घाम जस्तो छर्लङ्ग छ ।

वर्तमान परिप्रेक्षमा हाम्रो मुलुकमा भ्रष्टाचार र अनियमितताको श्रृखला विश्वलाई नै चुनौती दिई रहेको छ । यसमा हामी के बुझ्दछौँ भने भ्रष्टाचार र अनियमितता जुनसुकै स्थानबाट छ चाहे रु १०० को छात्रवृत्ति होस्, चाहे ५०० को सामाजिक सुरक्षा भत्ता देखि लिएर करोडौँको कारोबार हुने कार्यालय र सम्बद्ध प्रमुखहरू जहाँ पनि भ्रष्टाचार र अनियमितता देखिने गरेको छ ।

जागिर खाने कर्मचारीदेखि लिएर गैरनाफामुखी संस्था सञ्चालन गर्ने निकायहरूको यही मानसिक गरिबीको कारणले गर्दा हाम्रोमा यो भ्रष्टाचार र अनियमितता बढेको हो । सहभागीको लागि ५० रुपैयाँको खाजा नास्ता छ भने पनि त्यहाँ ३० रुपैयाँको खाजा नास्ता खुवाई बाँकी २० रुपैयाँ बचाएर ५० कै बिल भरपाई पेस गर्ने हाम्रा गरिब सरोकार व्यक्तित्वहरू र ५० को खाजा नास्तामा ३० को नास्ता खाएर ५० कै खायौँ भन्ने हामी सहभागी नै भ्रष्टाचार र अनियमितताको भागी हौँ ।

अर्कोतर्फ व्याप्त भ्रष्टाचार र अनियमिततालाई नियमन गर्न खडा संवैधानिक आयोग वा अन्य निकायमा कार्यरत कर्मचारी र प्रमुखलाई पनि यो मानसिक गरिबीले छोडेको छैन ।

त्यस्तै राज्यको चौथो अङ्गको रूपमा पत्रकारिता पनि कतै विज्ञापनको लोभमा कतै सूचना तथा कार्यक्रम पाउने प्रलोभनमा समेत अनियमितता र भ्रष्टाचारलाई ढाकछोप गर्नमा तल्लीन रहेको पाइन्छ । भ्रष्टाचार र अनियमितता कहाँ छ ? भन्दा कहाँ छैन ? भन्ने हाम्रो मुलुकमा किन सम्बन्धित निकाय र सरोकारवालाहरू कडाइका साथ कार्यान्वयन गर्न सक्दैनन् ।

मानसिक दरिद्रताकै कारण भ्रष्टाचार हुन गएको हो । हाम्रो समाज र समुदायको दरिद्र सोच के छ भने जसरी पनि पैसा कमाएको मान्छे समाजको ठुलो व्यक्ति हो भन्दै हामीले अनियमितता गर्न उद्धत गरेका हुन्छौँ । देशलाई भ्रष्टाचार र अनियमितता निर्मूल पार्ने नै हो भने हामीमा भएको मानसिक गरिबी र भौतिकवादमा देखिएको सामाजिक विकृतिहरूलाई सुधार गरौँ । होइन भने तपाईँ हामी पनि भ्रष्टाचारी र अनियमितताको मुख्य दोषी हुने छौँ ।

समाज, समुदाय र समग्र राष्ट्रलाई भ्रष्टाचार र अनियमितताको दलदलमा नफसाऔँ । आफ्नो निजी स्वार्थ भन्दा माथि उठी राष्ट्र सेवामा समर्पित बनौँ । गरिबीले कहिले र कसैलाई पनि भ्रष्टाचार र अनियमितता गराउन नपर्ने वातावरण सिर्जना गरौँ । सोच बदलौँ, भौतिक गरिबी उन्मूलन गर्न तर्फ सबै अग्रसर बनौँ, न कि मानसिक गरिबी हुँदै भएको साधन र श्रोतको अभावमा प्राप्त हुने चिज र विषयमा लागी समाज र राष्ट्रलाई कलङ्कित नबनाऔँ ।

विद्यमान मानसिक दरिद्रतालाई त्यागेर सबैले आ–आफ्नो स्थानबाट समाज, परिवार र राष्ट्रलाई सोचेर लाग्यौँ भने व्याप्त अनियमितता र भ्रष्टाचार निर्मूल हुनेमा कुनै शङ्का छैन । समाज, समुदाय र राष्ट्रलाई गरेको घातले तपाईँको हाम्रो भविष्यलाई अन्धकार र नारकीय जीवन बिताउन बाध्य पार्ने छ । मानसिक दरिद्रतालाई त्यागी आफ्नो कर्तव्यमा लगनशील बनौँ, नैतिकवान् बनौँ र राष्ट्रलाई समुन्नत बनाऔँ ।

यस लेखलाई https://www.prasashan.com/2020/11/08/205009/ बाट पनि पढन सकिन्छ । 

No comments:

Post a Comment


Pages