सरकारी सवारी साधन हाकिम सा’ब को कि कार्यालयको ? - krishivabrothers

relation never dies but it begets. यो हाम्रो निजी ब्लग हो । यसमा प्रकाशित हुने व्यक्तिगत, सामाजिक, सामुदायिक, सरकारी, गैर सरकारी, अन्तराष्ट्रिय तथा विश्वमा भएका समसामयिक घटना तथा विषय वस्तुको बारेमा प्रकाशन गरिने गरिन्छ । खास गरि यसमा हाम्रो मूलुकमा भएका समसामयिक विषय वस्तुमा आधारित भएर लेख तथा रचनाहरु संरक्षित हुने छन् । प्रकाशित लेख तथा रचनालाई कुनै पनि किसिमको नक्कल गर्नु कानुन अनुसार बर्जित गरिएको छ ।

Breaking

Home Top Ad


Sunday, August 08, 2021

सरकारी सवारी साधन हाकिम सा’ब को कि कार्यालयको ?


 

यो हाकिम पद पाउन कर्मचारीले लिङ्ग बाहेक हरेक कुरा परिवर्तन गरेको देख्न र सुन्न पाइन्छ । यसको लागि किन मरिहत्ते गर्दा होलान् भन्ने हाकिम हुन नपाएकाहरूको गुनासो भनौँ वा इच्छा त्यो भए पछि पक्कै पनि थाहा पाउँछन् होला । हामीले अहिलेसम्म बाहिरबाट देखेको कार्यालय प्रमुख हाकिम सा’बहरुले पाउने भनेको बस्ने आवास र सरकारी सवारी साधन माथिकै हाली मुहाली नै हो ।  जुन अन्य कर्मचारीहरूलाई प्राय हुँदैन ।

सरकारी सवारी साधनको बारेमा हरेक जसो सबैको आँखा लाग्ने गर्दछ । कहिले फलानो कार्यालयको गाडी फलानो होटेलमा रोकेको छ, कहिले फलानो हाकिमले परिवार घुमाउन फलानो बिदाको दिन गएको छ, कहिले फलानो अफिसको गाडिले मल र घाँस बोकेको छ, कहिले फलानो हाकिम सा’बले हामी सबैलाई गाडी चढ्न दिनुहुन्थ्यो, कुनै हाकिम सा’बले यो गाडी त घरकै जस्तै गराउनु भो भन्ने गुनासोको साक्षी तपाई हामी भई रहन्छौ र चलेको चलन पनि यही नै छ । सबै त नभनौँ तर अधिकांश हाकिम सा’ब हरुले भने सरकारी सवारी साधनलाई आफ्नै घर भन्दा पनि बढी प्रयोग गर्नुहुन्छ त्यो पनि व्यक्तिगत काम र परिवारको लागि यसमा पनि कुनै दुइमत नै छैन ।

अब कुरा आयो यो सरकारी सवारी साधन कार्यालयको हो कि कार्यालय प्रमुख  हाकिम सा’बको भन्ने ! कार्यालयको हो भने कार्यालयका अन्य कर्मचारीहरूले किन अत्यावश्यक काम र बिरामी परेको समयमा पनि उपभोग गर्न पाउँदैनन् कार्यालय प्रमुखको हो भने सरकारी इन्धन र मर्मतमा व्यक्तिगत र परिवारका लागि प्रयोग गरिन्छ ? हाकिम सा’बले परिवार र व्यक्तिगत जीवनको लागि प्रयोग गर्नुभयो भनी आरिस गर्नुभन्दा पनि यो पद्धति नै गलत र अनियमितता हो भन्न भने डराउनु हुँदैन र यो देख्दा सानो भए पनि सोचनीय चाही हो  । यस्तैमा मैले देखे भोगेको कुरा यहाँ प्रस्तुत गर्न चाहन्छु ।

एउटा कार्यालयमा कार्यरत निम्नस्तरका कर्मचारी कार्यालयमै काम गर्दा गर्दै लडेर हात र टाउकोमा चोट लाग्यो, उन्लाई अस्पतालमा लैजानको लागि कार्यालयको सवारी साधन हुँदाहुँदै निजी सवारी साधनमार्फत अस्पताल पुर्‍याई उपचार गरियो, त्यही फेरी हाकिम सा’बको श्रीमतीलाई मध्य रातीमा अचानक पेट दुख्दा उहाँको लागि कार्यालयको गाडीमार्फत काठमाडौँसम्म पुर्‍याईयो ।

अर्को गजबको दृष्टान्त यहाँ अवगत गराउन चाहन्छु, हाकिम सा’बको भान्सेको बच्चा र हाकिम सा’बको बच्चाले एउटै निजी स्कुलमा पढ्ने, हाकिम सा’बको बच्चा भने सरकारी मोटरमा विद्यालय अनि त्यही भान्सेको बच्चा भने बुवाले ढोर्‍याउदै विद्यालयमा आउँदाको दृश्य कस्तो होला आफै अनुमान गर्न सकिन्छ । यस्ता खाले दृष्टान्त तपाई हाम्रा अगाडि धेरै नै छन् ।  यहाँ कसले पायो कसले पाएन भन्दा पनि पाए सबैले पाउनु पर्ने हो, नपाए कसैले पनि नपाउनु पर्ने पक्कै पनि होला । कुनै कर्मचारी पनि नपाउने कसैको परिवारले समेत पाउने त्यो नै नमिल्दो देखिन्छ । त्यस्तै त्यही कार्यालयका कार्यालय प्रमुखको परिवारको काठमाण्डौमा उपचार हुँदा आफूसमेत काठमाडौँ पुर्‍याउने र ल्याउनेसम्म कार्यालयको सवारी साधनलाई प्रयोग गरिन्छ यो सरासर अनियमितता होइन र ? अझ काज ठोकेर सरकारी सवारी साधनमा आफन्तको बिहेमा जन्त जाने हाकिम सा’बहरुको त कुरै नगरौँ ।

त्यस्तै धेरै जसो हाकिम सा’ब हरूको घर काठमाडौँ हुने संयोग हो वा उहाँहरूको प्रगति हो, त्यो त भगवानले नै जानुन् । जे होस हाकिम सा’ब हरुले परिचय दिँदा भने पहिले घर यता अहिले काठमाडौँ भन्ने प्राय: सबैको मुखबाट सुन्न पाइन्छ ।  त्यसैले पनि होला अहिलेको नयाँ पुस्ताले छिट्टै काठमाण्डौमा घर घडेरी जोडी उहाँहरूको पछिको ठेगाना काठमाण्डौमा बनाउन मरिहत्ते गर्ने पनि । हाकिम सा’बहरु काठमाडौँ जाने आउने धेरै पटक गर्नुपर्छ । एउटै कार्यालयको कर्मचारीहरू बिदामा काठमाण्डौमा घर तथा डेरा भएका अन्य कर्मचारीहरूलाई त्यही कार्यालयको गाडीमा नलैजाने तर आफ्ना नातागोताहरू र राजनीतिक दलका नेताहरू र उनका परिवारलाई पुर्‍याएको प्रमाण प्रशस्तै देख्न पाइन्छ ।

अझ दसैँ तिहारलगायत मुख्य पर्वहरूमा त सार्वजनिक सवारी साधन भन्दा पनि तल माथि लोड गर्दै परिवार र नातागोताहरुलाई ओहोर दोहोर गराउने हाकिम सा’बहरुलाई भने पक्कै पनि लाज लाग्नु पर्ने हो, जसले आफ्नै कार्यालयका कर्मचारीलाई नल्याई नातागोता र इस्ट मित्रहरूलाई ओहोर दोहोर गराउनुहुन्छ । बिचरा निम्न कर्मचारी, जसलाई कार्यालय पूर्णरूपमा बिदा भएपछि कार्यालय छोड्नु पर्ने र खुल्दा बित्तिकै कार्यालयमा हाजिर हुनुपर्ने कर्मचारीले भने त्यही कार्यालयको साधनमा स्थान नपाउनेले पनि त्यही उत्तर खोजेको छ । गाडी हाकिम सा’बको कि कार्यालयको, कार्यालयको भए त पक्कै पनि पाउँथ्यो होला !

सरकारी साधन र श्रोतलाई नियमन गर्नेहरू नै  प्राय: जसो बिदाको दिनमा जिल्ला तथा बेजिल्लाका नजिक पर्ने पर्यटकीय तथा धार्मिक स्थलहरूमा परिवार सहितको भ्रमण गरेको देख्न पाइन्छ भने अन्य कार्यालयको त के कुरा र !  जस्तै अर्घाखाँचीमाबाट तपाईँहरूको रिडी, रेसुङ्गा, ढोरपाटन, स्वर्गद्वारी, लुम्बिनी कुन कार्यक्षेत्र परेर अनुगमन र निरीक्षणको बाहानामा परिवार लगायत आफूहरू घुम्न पुग्नुहुन्छ, यसलाई कार्यालयको कामको सिलसिलामा भन्ने कि निरीक्षण अनुगमन भन्ने की साधन श्रोतको दोहन भन्ने !

उही कार्यालयको जुनियर कर्मचारीको घर परिवारमा अत्यन्तै जरुरी काम परेर घर जान पर्दा गाडी रिजर्भ गरेर जानुपर्छ भने त्यही कार्यालयको हाकिमसा’ब भने आफन्तको बिहे होस तथा घरको कुकुर बिरामी भए पनि सरकारी सवारी साधन लिएर जन्त तथा अस्पताल जानु, अब भन्नुहोस् सवारी साधन हाकिम सा’ब को कि कार्यालयको ?

कुनै कुनै हाकिम सा’बहरुले त कस्तोसम्म गरेको देख्न पाइन्छ भने आफू र आफ्नो काम पर्दा भने अन्यलाई पनि गाडीको प्रयोग गर्न दिने र आफू नजाँदा भने अर्कै व्यवस्था गरेर फिल्डमा खटिनु पर्ने जुनियर अनुभव सुन्न पाइन्छ ।

कार्यालयको कामको लागि अन्य कर्मचारीलाई प्रयोग गर्न किन दिइँदैन होला ? यस्तोसम्म देख्दा त यो कार्यालयको नभएर हाकिम सा’बकै हो कि जस्तो लाग्छ । यी र यस्तै कारणले हामी भ्रष्ट्राचार र अनियमितता अग्र गतिमा दौडी रहेका छौ । अझ कार्यालयमा इन्धनको लागि विनियोजित बजेट, सवारी साधनको गुडाई र इन्धनमा भएको खर्चको तालमेल हेर्ने हो भने यस्तो रनभुल्ल परिन्छ कि कार्यालयको सवारी साधन २४ घण्टामा १ सेकेन्ड पनि रोकिएको छैन, यसको माईलेज कम्तीमा पनि २ कि मि प्रति लिटर जस्तो देखिने गरी इन्धन खपत भएको पाइन्छ । यसरी इन्धन, सवारी साधन गुडाई, गुडाई अनुसारको कार्यालयको काम काजसँग तादम्यता मिलाउने हामीमा कुनै प्रणाली विकास भएको छैन । हाम्रो कार्यालयमा इन्धनको लागि विनियोजित बजेट वर्षान्तरमा सधैँ सकिएको हुन्छ तर हामीले कसरी सकियो र यसको उपयोग कसरी भयो भन्ने समेत हेक्का राख्दैनौ ।

सरकारले कार्यालय प्रमुखलाई सवारी साधन, इन्धनलगायतका आवश्यक बजेट र सुविधा कार्यालयको कामकाज समयमै सकियोस्, छिटो छरितो होस, किफायत होओस् भनेर नै होला, न कि हाकिम सा’बको परिवारलाई घुमाउन, डुलाउन, औषधी उपचार गराउन, नाता गोतालाई किनमेल गर्ने, घडेरीको कारोबार गर्न, भनेर त पक्कै पनि होइन होला ! तर व्यवहारमा भने यस्तै भएको छ ।

हाकिम सा’ब हुने भनेको राम्रो मेहनत गरेर पढेको जानेको बुझेको अनुभव भएको र सिनियर भएर नै हुने हो । त्यसमा ठुलो जिम्मेवारी पनि हुन्छ, तर सरकारी साधन श्रोतको जिम्मेवारी नै कार्यालय प्रमुखको हो, यसको कुशल व्यवस्थापन नै कार्यालय प्रमुख हाकिम सा’बको गहन जिम्मेवारी हो । हाकिम सा’बहरुले कार्यालयको कार्य सम्पादनमा सहजताको लागि उपलब्ध साधन र श्रोतलाई व्यक्तिगत जीवन परिवारको लागि प्रयोग गरी यस्तो अपजस लिउने कार्य गर्न बन्द गरौँ र सम्बन्धित नियमक निकायले यसको व्यवस्थापन तर्फ ध्यान दिई सरकारी साधन श्रोतमा हुने अनियमिततालाई न्यूनीकरण तर्फ लागौँ । कुन सवारी साधन कुन कामको लागि कहाँ प्रयोग भई रहेको छ भन्ने सम्मको व्यवस्थापन गर्ने प्रणालीको अवलम्बन गर्न तर्फ लागौँ ।

सरकारी सवारी साधनको प्रयोग कार्यालय समयमै गरौँ भन्ने पनि होइन । कार्यालय प्रमुख घर जाँदा सार्वजनिक सवारी साधन चढेर जानुस् भन्ने पनि होइन । औषधी उपचार गर्न एम्बुलेन्स नै प्रयोग गर्नुहोस् भन्ने होइन । आउँदा जाँदा आफन्त र नातागोतालाई नचढाउनुहोस् भन्ने पनि होइन । तर यहाँ त दसैँमा ससुराल टीका थाप्न जाँदा सरकारी गाडी, तीजमा श्रीमतीलाई माइत पुर्‍याउन जाँदा सरकारी गाडी, बच्चाबच्ची विद्यालय पुर्‍याउदा सरकारी गाडी, बिहे भोजमा सरकारी गाडी, तपाईका छोरा छोरी बिदेश जाँदा आउँदा एयरपोर्ट पुर्‍याउन र ल्याउन सरकारी गाडी, जन्त जाँदा सरकारी गाडी, आजा पूजामा जाँदा सरकारी गाडी तर त्यही एउटै कार्यालयको अन्य कर्मचारीलाई कार्यालयकै कामको सिलसिलामा फिल्ड जाँदा भने सार्वजनिक यातायात तथा व्यक्तिगत साधनको प्रयोग गर्न बाध्य पारिनु बेठीक हो भन्नु नै यसको तात्पर्य हो ।

सरकारी सवारी साधन कार्यालयको हो, यसको व्यवस्थापन र उचित र व्यवस्थित प्रयोग गर्ने गराउने तपाईँको दायित्व र जिम्मेवारी हो । तर मनपरी व्यक्तिगत र पारिवारिक प्रयोगको लागि भने पक्कै पनि होइन ।  यो पढ्दै गर्दा हाकिम सा’बहरुको मनमा कुरा उठ्छ होला, हाकिम हुन सजिलो छ र गाडी चढ्न औकात हुनुपर्छ । सबैलाई गाडी चढाउन त कहाँ सकिन्छ र ! हाकिम हुन त पढ्नुपर्‍यो मेहनत गर्नुपर्‍यो नि भन्ने जस्ता विभिन्न प्रशनहरुले मुरमुरिनुहुन्छ होला त्यो एकदम ठिक हो । त्यो प्रयोग तपाईँहरूले कार्यालयको लागि, सरकारको लागि र समाजको लागि गर्नुहुन्छ भने तर त्यही तपाईँले कुन अनुचित रूपले र व्यक्तिगत फाइदाका लागि गर्नुहुन्छ भने उत्तर आफै खोज्नु । तपाईँहरूले त्यस्तो के पढाई पढ्नुभयो, कस्तो मिहेनत गर्नुभयो जसले तपाईँको योग्यता, दक्षता, मेहनतले तपाईँको परिवार, आफन्त, नातागोता, आसेपासे सरकारी गाडीमा घुम्न पाउन, आफन्तको बिहेमा जन्ती सरकारी गाडीमा जान पाउन, तपाईँको परिवारले सरकारी गाडीमा किन मेल गर्न बजार जान पाउन  !कृपया यसको उत्तर पनि दिने प्रयास गर्नु होला ।

https://www.prasashan.com/2021/02/14/218397 मा पनि प्रकाशित । 

No comments:

Post a Comment


Pages